टीका र रेजिनाले तताए माहोल, नेपाली महिला समाज कतारको रमाइलो तिज कार्यक्रम सम्पन्न

प्रकाश दर्नाल

दोहा,कतार- नेपाली महिला समाज कतारको रमाइलो तिज कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।

समाजकी अध्यक्ष माया के.सीको सभापतित्व, नेपाली राजदुतावास कतारका महामहिम राजदुत रमेश चन्द्र पौडेलको प्रमुख आतिथ्यतामा मुन्ताजामा रहेको होटेल होलिडे भिल्लाको म्याजेस्टिक बलरुम हलमा नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर आयोजित रमाइलो तिज सचेतना तथा विविध साँस्कृतिक कार्यक्रम – २०२५ शुक्रबार सम्पन्न भएको हो ।

दिउँसो २ बजे व्यानर अनावरण दिप प्रज्वलन गरि नेपाली राष्ट्रिय गान बजाएर औपचारिक रुपमा सुरु भएको कार्यक्रममा समाजकी वरिष्ठ उपाध्यक्ष सन्ध्या अर्यालले स्वागत मन्तव्य राखेकी थिइन भने नेपाली महिला समाज कतारकै बाल कलाकारहरु दिया सिंह र प्रज्ञा निउरेले हलमा उपस्थित सम्पुर्ण अतिथि एवं दर्शकहरूलाई स्वागत गर्दै मिक्स तिज गीतमा आकर्षक स्वागत नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रम सुरु भए लगतै भोजपुर सेवा समाज कतारले तिज विशेष कोसेली दिएर नेपाली महिला समाज कतार र प्रवासमै रहने भए पनि एक नेपाली सङ्ग अर्को नेपालीको समिप्यतामा कुनै कमि नभएको सन्देश प्रवहा गरेको थियो ।

कार्यक्रम सुरु भए देखिनै निरन्तर साङ्गीतिक प्रस्तुतिहरु मार्फत तिजमय बनेको माहोलमा प्रमिला बस्नेत, अन्जु परियार, आशा विश्वकर्मा, सन्जिता विश्वकर्मा, लक्ष्मी विश्वकर्मा, रुपी क्षेत्री, रेश्मी सेन्चुरी, तारा विसी, सुमित्रा भट्टराई, एलेक्सी ठाकुर, सुधा परियार, सृष्टि श्रेष्ठको साथै तमु (गुरुङ) समाज कतारका कलाकारहरु र परियार मित्रता समाज कतारकी कलाकार अनिता परियार लगायतका कलाकारहरुले गायन तथा नृत्यमा सामुहिक एवं एकल साङ्गीतिक प्रस्तुतिहरु प्रस्तुत गरेर कार्यक्रमलाई सङ्गीतमय बनाईदिएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि महामहिम पौडेलले हलमा उपस्थित सम्पुर्ण महिला दिदीबहिनीहरुलाई तिजको शुभकामना दिएका थिए । पौडेलले थप बोल्दै परदेशमा रहदै गर्दा पनि नेपाली चाडपर्व, रितिरिवाज, कला संस्कृतिलाई उत्तिकै महत्त्व दिएर आयोजना गरिएको भव्य कार्यक्रममा आफुलाई प्रमुख अतिथिको भुमिकामा निमन्त्रणा गरि सहभागी हुने अवसर प्रदान गरेकोमा नेपाली महिला समाज कतार प्रति हार्दिक आभार व्यक्त गरे ।

कार्यक्रमको उतार्धमा नेपालबाट आमन्त्रित अतिथि कलाकार रेजिना परियार स्टेजमा देखा परेकी थिइन उनले आफ्नो समयभर कर्मैले परदेश पुरायो, यतिको भएसी चल्छ नेपालमा, भुल परे दाई म त, नाच ओई बाटुली, परे म त छ्क्कै जस्ता आधा दर्जन गितमा प्रस्तुत गरिन भने कार्यक्रममा सहभागी हुने अवसर मिलाइ दिएकोमा आयोजक समिति प्रती आभार व्यक्त गरिन ।

कार्यक्रमको अन्तिमा क्षितिज वारि मेरो बस्तीमा बोलको गीत गाउदै स्टेज चढेकी बहुचर्चित लोक प्रिय गायिका टीका पुनले जहाँ नेपाली त्यहाँ नेपाल भन्दै नेपाल देखी कतार सम्म आएर कार्यक्रममा सहभागी हुने अवसर जुराइदिने नेपाली महिला समाजलाई धन्यवाद दिइन भने अध्यक्ष के.सीलाई नेपाल देखि नै ल्याएको उपहार दिएर आफ्नो प्रस्तुती सुरु गरेकी थिइन । पुनले माइतिको देश, करिमै रुखो हुनाले, पानी माथी डुङ्गा, जमिनै फरर, गैरा बारी, कर्मैले घुमायो मलाई, जाम भने जान्थेउ र माया लगायतका एक दर्जन गीत गाएर दर्शहरुलाई झुमाएकी थिइन भने पुन र परियार दुबैले सङ्गै तिजको लहर आयो बरिलै गाउँदै साङ्गीतिक प्रस्तुतिको बिट मारेका थिए ।

कार्यक्रमको अन्तमा सभापति के.सीले हलमा उपस्थित भएर कार्यक्रम सफल बनाइदिन सहयोग गर्ने सम्पुर्ण अतिथिगण, सहयोगी संघ संस्था, स्पोन्सर, सहयोगी दाता, कलाकार, पत्रकारहरु र कार्यक्रम तयारीमा जुट्ने कार्यसमिति टिम प्रती हार्दी आभार व्यक्त गर्दै कार्यक्रम समापन गरेकी थिइन भने कार्यक्रममा आईसीसी, एनसीसीका पदाधिकारीहरु, कतारमा स्थापित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, समाजसेवी, व्यबसायिहरु, सामाजिक अभियान्ता लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।

Spread the love

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top