क्राउन प्लाजा, दोहा

आयुषा मेकअप सलुन र अल दाना सलुनको संयुक्त आयोजनामा क्राउन प्लाजा, दोहामा सम्पन्न तीज विशेष कार्यक्रममा अभूतपूर्व भीड देखिएको छ। कार्यक्रममा प्रमुख अतिथि नेपाली महिला समाज कतारकी अध्यक्ष माया केसी रहनु भएको थियो भने विशेष अतिथि रूपमा लोकप्रिय लोक दोहोरी गायिका देवि घर्ति मगरको उपस्थिति रहेको थियो। कार्यक्रमको सभापतित्व आयोजक आयुषा श्रेष्ठ खड्काले गर्नुभएको थियो।

कार्यक्रममा नेपाली समुदायको उत्साहजनक उपस्थिति देखिएको थियो। आयोजकले अनुमान गरेभन्दा धेरै दर्शक सहभागी भएपछि हल पूर्ण क्षमताभन्दा बढी भरिएको थियो। परिणामस्वरूप आधाभन्दा बढी दर्शकलाई हल भित्र प्रवेश दिन नसक्दा उनीहरू निराश हुँदै फर्किनुपरेको थियो।
दोहामा पहिलोपटक यति ठूलो संख्यामा दर्शक आकर्षित भएको तीज विशेष कार्यक्रमलाई सफल मानिए पनि व्यवस्थापन पक्षले पर्याप्त तयारी गर्न नसकेको भन्दै कतिपय दर्शकले असन्तोष व्यक्त गरे। तर, भित्र प्रवेश गर्न सफल भएका दर्शकहरूले भने गायिका देवी घर्ति मगरको प्रस्तुति र तीजको उल्लासपूर्ण माहोलको खुलेर प्रशंसा गरेका थिए।
कार्यक्रमले प्रवासमा रहेका नेपाली महिलाबीच आत्मीयता, संस्कृतिको संरक्षण र एकतामा बल थपेको आयोजक को भनाइ छ।
