दिउँसोदेखि सामाजिक सञ्जाल प्रयोगकर्ताले जेन-जीको आन्दोलनको नेतृत्व लिन बालेनलाई दबाब दिएका हुन् ।
“प्रिय बालेन, अहिल्यै नेतृत्व लेऊ वा कहिल्यै नलेऊ,” सामाजिक सञ्जाल प्रयोगकर्ताले भनेका छन् । सामाजिक सञ्जाल फेसबुक, एक्सलगायतमा यो ट्रेन्डले व्यापक चर्चा पाएको छ । उनीहरूले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, बढ्दो भ्रष्टाचार र नेपाली राजनीतिज्ञका सन्तानको कल्पनीय विलासी जीवनशैलीको स्रोत के हो भन्दै प्रदर्शन थालेका थिए । सोमबार बिहान नौ बजेदेखि राजधानीको माइतीघर क्षेत्रमा सुरु भएको प्रदर्शन मीनभवनस्थित संसद् भवनसम्म पुगेको थियो ।
प्रहरीले भिड नियन्त्रणमा लिन अश्रुग्यास, पानीको फोहोरा र रबरको गोली प्रहार गरेपछि भिड तितरबितर भएको थियो । प्रदर्शनका क्रममा कम्तीमा १८ जनाको मृत्यु भइसकेको विवरण प्राप्त भएको छ ।राजधानीबाहेक चितवन, कास्की, इटहरी, बुटवल, झापालगायत देशका प्रमुख सहरमा पनि जेन-जीले प्रदर्शन गरेका छन् । शान्तिपूर्ण प्रदर्शन भनिए पनि अधिकांश क्षेत्रमा झडप भएको छ ।
जेन-जीले प्रदर्शनको घोषणा गरेसँगै बालेनले सामाजिक सञ्जालमार्फत समर्थन जनाएका थिए । आफ्नो उमेर हदका कारण सहभागी हुन नसक्ने बताउँदै बालेनले शान्तिपूर्ण तरिकाले आन्दोलन गर्न आह्वान गरेका थिए ।