सद्भाव युवा समाज कतारले आयोजना गरेको तिज विशेष कार्यक्रम भव्यताका साथ सम्पन्न

दोहा,कतार- सद्भाव युवा समाज कतारले पहिलो पटक आयोजना गरेको तिज विशेष कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।

शनिबार साँझ वल्ड एअरपोर्टमा रहेको एमआरए वेकरी रेष्टुरेन्ट एण्ड स्वीटको सभाहलमा समाजका अध्यक्ष विजय गुरुङको सभाध्यक्षता एवं नेपाली महिला समाज कतारकी अध्यक्ष माया के.सीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा समाजका उपाध्यक्ष रुस्तम तामाङले उपस्थित सबैलाई सम्बोधन गर्दै स्वागत मन्तव्य राखेका थिए ।

कतारमा रहेर कतार एयरवेजमा कार्यरत युवा श्रमिकहरूको अग्रसरतामा सन् – २००८ मा स्थापित श्री सद्‍भाव युवा समाज कतारले नेपाली नारीहरूको महान् पर्व हरितालिका तिजको अवसर पारेर पहिलो पटक दर खुवाउने कार्यक्रमको आयोजना गरेको हो भने कार्यक्रममा नेपालबाट आमन्त्रित लोक तथा दोहोरी गायिकाद्वय टिका पुन र रेजिना परियारले सांगीतिक प्रस्तुति दिएका थिए । परियारले भुल परे दाइ म त सहित केही आफ्ना चर्चित गीत गाइन् भने पुनले माइतीको देश लगायतका तिजका गीतहरू गएकी थिइन् । संगीतमय माहोलमा दर खुवाउँदै सम्पन्न भएको कार्यक्रममा कतारमा रहेका केही कलाकारले पनि आफ्नो उत्कृष्ट सांगीतिक प्रस्तुति दिएका थिए ।

कार्यक्रम तिज विशेष भएकैले कार्यक्रममा सरिक सबै संघसंस्थाका महिला प्रतिनिधि, पत्रकार, प्रमुख अतिथि सहित सांगीतिक प्रस्तुति दिने सबै कलाकारहरूलाई दोसल्ला ओढाएर कदर पत्रद्वारा सम्मान गरिएको थियो । थोरै व्यक्तिहरुले मात्र शुभकामना मन्तव्य राख्ने अवसर पाएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि के.सीले सद्‍भावले वास्तवमै आफ्ना सत्कर्ममा विशेष इँटा थपेको बताउँदै दर खुवाएर चेलीहरूलाई आफ्नोपन दर्साएकोमा खुसी व्यक्त गरिन् ।

कार्यक्रमको अन्तमा सभाध्यक्ष गुरुङले तिज नारी सशक्तीकरणको बिन्दु रहेको र सद्‍भाव समाजमा चेलीबेटी नभए पनि कतारमा रहेका चेलीबेटीको माइती बन्न सकिन्छ भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । गुरुङले कार्यक्रममा सहभागी हुने सम्पूर्ण अतिथि, चेलीबेटीहरुको साथै कार्यक्रम तयारीको लागि खट्ने कार्यसमिति टिमलाई धन्यवाद दिँदै कार्यक्रम समापनको घोषणा गरेका थिए ।

दीप प्रज्वलन सहित नेपाली राष्ट्रिय गान बजाएर विधिवत रुपमा सुरु भइ राती अबेर सम्म चलेको कार्यक्रम समाजका महासचिव चित्रबहादुर गुरुङ र सचिव नविन अर्याल मिलेर सहजीकरण गरेका थिए ।

Spread the love

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top